राजनीति

नेपालले आफ्नो एक ईन्च पनि भूमी छोड्दैन- रायमाझी

काठमाण्डौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार आफ्नो गतिमा दु्रत गतिमा अघि बढिरहेको स्पष्ट पार्नु भएको छ ।

काँग्रेसले सरकार माथि लगाएको आरोपको प्रतिवाद गर्दै उहाँले अगाडि भन्नुभयो,‘प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेजस्तो भ्रष्टाचार र व्यभिचारमा लिप्त भएको छैन् ।

कांग्रेसको यो आरोपमा कुनै सत्यता छैन् । राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको छ । म दोहोर्याएर भन्न चाहन्छु प्रतिपक्षी दलले सरकारको व्यापक विरोध र गरेको आलोचनामा धेरै सत्यता छैन् ।’

तर, रायमाझीले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा काम भने नभएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,‘जनताले अपेक्षा गरेअनुसार काम भएको छैन, यो कुरा हामीले मनन गर्नुपर्छ । तर, सरकारले केही पनि गर्न सकेको छैन् । सबै बर्वाद नै भयो भन्ने आरोपमा कुनै सत्यता छैन् ।’

नेपालमा सबैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली कांग्रेस भएकोले उसले अहिलेको सरकारमाथि लगाएको आरोपमा कुनै दम नभएको पनि उहाँको तर्क छ ।

रायमाझीले अगाडि भन्नुभयो,‘नेपाली कांग्रेसको धेरै सरकार बनेका छन्, यदि उसले भनेकोजस्तो भए त देशले विकास र समृद्धिमा ठूलो फड्को मार्ने थियो । बरु, अहिले नेकपाको सरकार आउँदा धेरै राम्रो भएको छ । सामाजिक सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । जनतालाई राहत दिनेगरि अघि बढिरहेको छ ।’

सरकार पछिल्लो समय भ्रष्टाचार निर्मूलीकरणको लागि अत्यन्तै कठोर रुपमा अघि बढिरहेको पनि रायमाझीको भनाई छ । उहाँले भन्नुभयो,‘सरकार दुई तिहाईको हो, यसलाई जनताको पूर्ण समर्थन छ ।’ उहाँले राष्ट्रियताको विषयमा पनि सरकार आफ्नो अडानमा रहेको दावी गर्नुभयो ।

रायमाझीले सरकारले सीमा विवादको लागि पहलकदमी अघि बढाउने र कुटनीतिज्ञहरु पनि परिचालन गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले छिटोभन्दा छिटो यसको लागि पहल गर्छ । नेपालको एक ईन्चपनि भूमि छोड्दैन् । र कसैको पनि एक ईन्चपनि भूमि लिँदैन् ।’ सीमा विवादको समाधान अब दिर्घकालीन रुपमा हुनेपनि उहाँले विश्वास दिलाउनुभयो ।

अहिले मुलुकको एकसूत्रीय एजेण्डा भनेको विकास र समृद्धि नै भएकोले सोहीअनुसार सरकार अघि बढिरहेको पनि उहाँको भनाइ छ । मुलुकमा अहिले गरिबी र बेरोजगारीको समस्या रहेकोले यसको अन्त्यको लागि सरकारले ठोस कदम चाल्नेपनि उहाँले स्पष्ट पार्नुभयो ।

एक फरक प्रसँगमा उहाँले सभामुखको चयन चाँडै हुनुपर्ने र सकेसम्म छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बताउनुभयो ।

Related Articles

Close