विचारहाइलाईट

नीति र नेतृत्वको वैचारिक पृष्ठभूमी

संगठित रुपमा बसोबासको सुरुवातसंगै मानवजातिमा कुनै न कुनै प्रकारले नेतृत्व चयनको प्रकृया आरम्भ भयो । भाषा र लिपिको बिकास पछि नेतृत्वको आवश्यकता झन् बढी महशुस गरियो । खासगरि सुरुवाती दिनहरुमा आत्म सुरक्षाका लागि सुरु भएको नेतृत्व चयनको निरन्तरता आज पनि कुनै न कुनै रुपमा आत्म सुरक्षाकै वरिपरि केन्द्रीत छ । परापूर्वकालदेखि आजसम्म आउँदा नेतृत्व कतै चयन र कतै हडप दुई तरिकामा आधारित देखिन्छ ।

एउटा बहुसंख्यक मानिसहरुले रुचाएर नेतृत्वमा ल्याउने बिधि र अर्को गढहरु कब्जा गरि सबैलाई डाउन साइज गराउँदै नेतृत्वमा आउने बिधि । बलपूर्वक होस वा रुचीपूर्वक जो जसरी सत्तामा आएपनि सत्ता एक प्रकारले उन्मादमै हुर्कन्छ । सत्ताले मानिसहरुलाई दम्भी, घमण्डी, सुपेरियर र आफूलाई भगवानको दोस्रो अवतार ठान्ने मनोबृत्तिको विकास गराउँछ । सत्ताको उदय जब रवाफमा बदलिन्छ विस्तारै त्यो सत्ता अलोकप्रिय, अस्विकार्य र अरुचीकर बन्न थाल्छ र अनि त्यँही वरिपरि त्यसको पतनको संकेत देखा पर्न थाल्छ । प्राचीन सामन्ती समाजदेखि आजको आधुनिक युगसम्म आउँदा सत्ताका उदय र पतनका श्रृंखलाहरुमा यस्तै घटना, स्वभाव र प्रवृत्तिहरु कारक बन्ने गर्छन् ।
धेरै मानिसहरुलाई आजको सत्ता बैज्ञानिक आविष्कार, सभ्यताको बिकास र मानवीय जीवनको उच्चतम प्रदर्शनमा केन्द्रीत छ भन्ने लाग्छ, त्यो सत्य पनि हो । संरचनाहरुको नीतिगत व्याख्या र ब्यवहारिक अभ्यास त्यसैगरि गर्ने विश्वव्यापी मान्यता पनि छ । तर राज्यसत्ता सञ्चालन गर्ने, राज्यसत्तामा अवरोध पुर्याउने र राज्यसत्तामा आफ्नो उपस्थितीको दावा गर्ने मुठ्ठीभर मानिसहरुको एउटा पंक्ति हमेशा आत्मरक्षाकै लागि राज्य मेसिनरीको प्रयोग गर्छ । यो अर्को यथार्थपरक विश्वव्यापी प्रचलन हो ।

युरोपियन युनियन होस कि एटलान्टिक सैन्य संगठन (नेटो) होस् वा इण्डोप्यासिफिक रणनीति नै यी सबै आत्मरक्षा वा अरुमाथि बिजयी हासिल गर्ने उद्देश्यमा गठित गठबन्धनहरु हुन् । यस्ता गठबन्धनहरु देशभित्र राजनीतिक पार्टी,क्षेत्रीय शक्ति, धार्मिक, जातीय र भौगोलिक एकताका आधारमा देखा पर्छन् । यी साम्प्रदायिक गठवन्धनहरुको जन्म कहिँं न कहिंँ आत्मरक्षाकै सोंचकाबीचबाट हुन्छ ।
अन्तराष्ट्रिय राजनीतिमा पनि यस्ता नेटवर्कहरु आत्मरक्षाकै वरिपरि केन्द्रीत हुन्छन् । को कसको आर्थिक छत्रछायाँमा रहने ? को कसको राजनीतिक लाइनमा उभिने र को कसको सैन्य प्रभुत्व वा सुरक्षा छातामा रहने भन्ने कुरा आत्मरक्षाको सुनिश्चितता संगै जोडिन्छ । त्यसकारण पनि सत्तामा को छ ? उसको सोच्ने तरिका के हो र उसका पछाडि अन्तराष्ट्रिय समर्थन कसको छ र कस्तो विचारधारामा झुकाव राख्ने मत उसले हासिल गर्यो यी कुराहरुलाई नजरअन्दा गरि अगाडि बढ्न सकिदैन ।

    सत्तामा को छ ? त्यसको नीति के हो र नेतृत्वको वैचारिक पृष्ठभूमी कस्तो छ ?

राजनीतिमा यो सबैभन्दा निर्णायक र महत्वपूर्ण प्रश्न हो । सत्ताको बागडोर सम्हालिरहेको मानिस को हो ? उसलाई कस्तो प्रवृत्ति मनपर्छ ? उसको वरिपरिको घेरा वा उसको किचेन क्याविनेटमा देखिने अनुहारहरु को हुन् ? यिनै कुराहरुलाई गहिरो गरि बुझ्न सकियो भने त्यस सरकारको राजनीतिक भविष्यवाणी गर्न वा उसका संभावित कदमहरुको अनुमान गर्न असहज हुँदैन । हरेक सत्तासिनले आफ्नो रुचीका स्वभाव, मनपर्ने पात्र र मिल्ने प्रवृत्तिहरुलाई आफ्नो राजकाजका वरिपरि महत्वपूर्ण रत्नका रुपमा स्थापित गर्दछ । हामीले २०४७ यताका प्रधानमन्त्री, तिनको मन्त्री परिषद, किचेन क्याबिनेट, सचिवालय र सल्लाहकारको बिवरण हेर्न वित्तिकै संवैधानिक राजतन्त्रदेखि संघीय गणतन्त्रसम्मका नेता, नीति र तिनको बैचारिक पृष्ठभूमी सहजै अनुमान गर्न कठिन छैन ।

हामीले नीति बदल्यौं, नियत बदलेनौं । बिधान बदल्यौं विधि बदलेनांै । नेता बदल्यौं, आचरण बदलेनौं । ब्यवस्था बदल्यौं, ब्यवस्थापन बदलेनौं । उपरिसंरचनामा ब्यापक हेरफेरको चर्चा गर्ने तर, आधारहरुमा हेरफेर गर्दा दबाव र प्रभावको घेराबाट मुक्त हुन नसक्ने मनोदशाले नै यसअघिका सबै परिवर्तनहरु निष्प्रभावी भएको तथ्यलाई हामी बुझेर पनि नजर अन्दाज गरिरहेका छौं । सत्तामा पुगेपछि कताबाट हातहरु बाँधिन्छन् र कसले सत्तासिनहरुलाई अलौकिक हतकडी लगाउँछ अब यसको गहिरो अध्ययन गर्न आवश्यक छ ।

पहिलो कुरा सत्तामा रहने व्यक्ति आफैमा खराब हुँदैन तर उसलाई स्वतन्त्र र बिवेकको निर्णय लिनबाट वञ्चित गर्ने एउटा घेरा हमेशा सक्रिय रहन्छ । जसले सत्ताको ब्राण्ड बेचेर आफ्नो भावी पुस्ताका लागि व्यक्तिगत स्वार्थका पुन्तराहरु कसिरहेको हुन्छ । दोस्रा,े सत्तामा रहने व्यक्तिको संगठन भित्र र संगठन बाहिर उठ्बस् गर्ने सर्कल कस्तो छ त्यसले पनि सत्ता भ्रष्ट, अराजक, तानाशाही वा पारदर्शी, अनुशासित, लोकतान्त्रिक र बिनम्र बनाउनमा ठूलो भूमिका खेल्छ । तेस्रो, सत्तामा रहने व्यक्ति कस्तो दर्शन,सिद्धान्त,विचार र आदर्शबाट वास्तविक रुपमा प्रभावित हो भन्ने निक्र्यौल गर्न सकियो भने त्यो अझ बढी स–स्पष्ट र दृष्टीकोण मापनको आँखाबाट हेर्न सजिलो हुन्छ ।

सिद्धान्तको झण्डा बोक्नु, संगठनमा आवद्ध हुँदै नेतृत्व हत्याउनु, सिद्धान्त, दर्शन र विचारधारामा भिज्नु, प्रभावित हुनु र जीवन व्यवहारमा लागु गर्न अहोरात्र अग्नी परिक्षामा होमिनु नितान्त फरक कुरा हुन् । यी सबै कुराहरुको कूल योगफलको मापन गर्ने विधि भनेको सत्तासिन व्यक्तिको स्वभाव, आचरण र उसका व्यवहारिक कदमबाट आउने परिणामलाई नियाल्नु हो । गुण्डागर्दि गर्ने, जाइलाग्ने, आफु र आफ्नो पंक्ति विरुद्धका यथार्थ टिप्पणीहरुलाई पनि ठाडै खारेज गर्ने प्रवृत्तिले राजकीय वा सांगठनिक सत्तालाई छोटो सयम रक्षा कवचको काम गर्छ । तर एउटा निश्चित समय पार भइसकेपछि सत्ता बद्नाम, भ्रष्ट, हुकुमी, निरंकुश र बर्बरताको बाटोमा जान्छ त्यसपछि बलद्धारा राजनीतिक सत्तालाई सधैं आफ्नो काबुमा राख्न सकिन्छ भन्ने दम्भी पात्रहरु बिद्रोहका रुपमा देखा पर्ने बिनम्रहरुको एउटा आँधिसंगै बडारिने खतरा रहन्छ । तथापि सत्तामा जहिल्यै विनम्रहरुको बाहुल्यता हुनुपर्छ । जनता र विपक्षिको सहि आलोचनासंग डराउनेहरुको उपस्थिति हुनुपर्छ । इमान्दार कार्यकर्ताको आवाज सुन्ने र जनताका गुनासासंग साक्षात्कार गरिरहने पंक्ति सत्ताको वरिपरि रहनुपर्छ ।

सत्ताको वरिपरि सबैभन्दा बढी घुमीरहने भनेको सुरा, सुन्दरी र पैसा हो । सत्ताका हर्ताकर्ताहरु प्रायः शान, मान र सामाजिक प्रतिष्ठाको तलाउमा पौडी खेलिरहने भएकाले उनीहरुलाई उन्मादको नशा चढ्छ । आफूलाई त्यो स्थानमा पुर्याउने जनता, पार्टी, संगठन, कार्यकर्ता, समकक्षी, सहयोगी र समर्थकहरुलाई उनीहरुले असक्षम ठान्न थाल्छन् । आफूलाई चतुर खेलाडी, विवेकशिल र भाग्यमानी ठान्ने मनोवृत्तिको विकास उनीहरुमा बढ्दै जान्छ र त्यही अहंकारलाई अनुशासन र बिनम्रताको काबुमा राख्न नसक्नेहरु घृणित बनेर सत्ताबाट सडकमा बजारिन्छन् । यो सत्ताको नियम हो ।
सत्तामा पुगिसकेपछि जो अझ बढी बिनम्र, अझ बढी संवेदनशिल, अझ बढी जिम्मेवार र नैतिकवान बनेर चाँडै बाहिर निष्कने चेष्टा गर्छ उसलाई जनताले फेरि सत्तामै पठाउँछन् र राज्य मेसिनरीले उसलाई लामो समयसम्मका लागि स्वागतको तयारी गरिरहेकै हुन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close